

भारतमा दैनिक संक्रमितको संख्या ५० हजारमा झर्यो

नयाँदिल्ली – भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमित हुनेको संख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल संक्रमितको संख्या भने तीन करोड भन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कुल संक्रमितमध्ये एक करोड भने पछिल्लो ५० दिनमा थपिएको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट कुल सङ्क्रमितको संख्या तीन करोड २८ हजार २०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भने ५० हजार ८४८ जना सङ्क्रमित थपिएको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । सोही अवधिमा भारतमा कोरोनाका कारण एक हजार ३५८ जना जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या भने तीन लाख ९० हजार ६६० पुगेको छ ।
महामारी अन्त्य नभएको र मृत्यु हुनेक्रम नरोकिएकाले कुल मृतकको संख्या केही दिनमा चार लाख पुग्ने देखिएको छ । भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमित र मृतकको संख्या घट्दै गइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख २४ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल संख्या छ लाख ४३ हजार १९४ रहेको छ । सक्रिय सङ्क्रमितको संख्या पनि अहिले कम हुँदै गएको हो ।
त्यसैगरी पछिल्लो एक दिनमा भारतमा १९ लाख एक हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल ३९ करोड ५९ लाख ७३ हजार १९८ पटक परीक्षण भएको छ ।

