

३२ घन्टामा आउँदैछ सर्वोच्चको अर्को ‘विशेष’ फैसला

काठमाडौं– ३२ घन्टाभित्र अर्थात् आइतबारसम्ममा सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी फैसला दिने भएको छ। उक्त फैसला संक्षिप्तमा पहिला आउनेछ र पूर्ण फैसला केही महिनाभित्र तयार हुने अनुमान गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटनको निर्णय गरेविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। उक्त रिट उपर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा रहेको संवैधानिक इजलासले सुनुवाई गरेको थियो।
बुधबारदेखि उक्त सुनुवाईलाई नियमित गरिएको छ र पक्ष विपक्षलाई आफ्ना दलील राख्नका लागि ३० घन्टाको समयसीमा तोकिएको छ। एमीकस क्युरीलाई राय दिनका लागि २ घन्टाको समयसीमा निर्धारण गरिएको छ।
यस हिसाबले सर्वोच्चको फैसला ३२ घन्टामा आउने अनुमान गरिएको हो। यस पटक पनि अदालतले प्रतिनिधि सभा विघटनमा कस्तो फैसला दिनेछ भन्ने विषय चासोका साथ हेरिएको छ।
विघटनको निर्णयपछि सरकारले गरेका हरेक काम सर्वोच्चले उल्टाएको नजिरलाई हेर्दा प्रतिनिधि सभा पुनःस्थापना हुने कतिपयको टिप्पणी छन् भने विविध फैसलामा राजनीतिक पाटोलाई पनि उदाहरणका रुपमा राखिएका कारण मुलुक चुनावतिर जानेगरी विघटन सदर हुने पनि अनुमान गरिएको छ।

