प्रदेश नं २ को विकास खर्च निराशाजनकः ११ महिनामा ३० प्रतिशत


धनुषा – कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा प्रदेश नं २ मा चालू आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र विकास खर्च (पुँजीगत खर्च) भएको छ ।

चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले कूल रु १९ अर्ब १९ करोड ८ लाख १८ हजार पुँजीगत बजेट विनियोजन गरेको थियो । तीमध्ये चालू आर्थिक वर्षको ११ महिनामा सरकारले कूल रु ५ अर्ब ६८ करोड ६५ लाख मात्र खर्च गर्न सकेको छ । यो कूल पुँजीगत खर्चको २९.८० प्रतिशत हो ।

प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका अनुसार नियमित अर्थात् चालू खर्चतर्फ सरकारले रु १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार बजेट विनियोजन गरेकोमा सो अवधिमा रु ४ अर्ब ९६ करोड ९२ लाख मात्र खर्च भएको छ । यो कूल चालू खर्चको ३७.२५ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत मनोज कुमार झाले जानकारी दिए ।

कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको छ । मन्त्रालयले विनियोजित कूल बजेटको ४१.१४ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले विनियोजित बजेटको चालूतर्फ रु ३५ करोड ६० लाख ८१ हजार र पुँजीगततर्फ रु ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार खर्च गरेको छ । यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो अवधिमा सबैभन्दा कम अर्थात् १३.८ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । सो अवधिमा चालूतर्फ रु ३४ करोड १० लाख ६१ हजार र पुँजीगततर्फ रु ११ करोड १४ लाख ८४ हजार खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया