

नेकपा विवादबीच प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेट्नुको राजनीतिक अर्थ

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबार छाटो समय बसेको सचिवालय बैठक र त्यस अघिपछिका पत्र आदान प्रदानले राजनीतिक गर्माएको छ।
नेकपाका अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको पत्र आदान प्रदान र सचिवालयमा पेश गरिएको राजनीतिक प्रतिवेदनले झनै राजनीतिक राप बढाएको छ।
नेताहरू विभाजित धारणामा छन्। यहि मेसोमा प्रधानमन्त्री ओलीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। नेकपाभित्र विवाद चलिरहेका बेला प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्नुलाई राजनीतिक अर्थका रुपमा पनि लिइने गरिएको छ।
यसको नजीर नै बनिसकेको छ। खासगरी जब–जब नेकपा विवाद उत्कर्षमा पुग्छ त्यसबेला राष्ट्रपति भण्डारीले सहजीकरण गरेको भन्ने विवरण सतहमा आउँछन्। त्यस्तै देखिने गरेको पनि छ।
अघिल्लो पटक स्थायी समिति बैठकमा ओलीविरुद्ध प्रचण्डलगायतका नेताले धारणा राखेपछि सदन स्थागित भएको थियो भने त्यहि बेला नेताहरू शीतलनिवासमा पुगेका थिए।
हालै पनि विवाद चरम अवस्थामा रहेका बेला राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई शीतलनिवास डाकेर सहजीकरणको प्रयत्न गरेको बताइएको थियो।
यसैकारण पनि प्रधानमन्त्री ओलीले शनिबार राष्ट्रपतिलाई भेट्नु राजनीतिक कारण हुनसक्ने कतिपयको अनुमान छ। खासगरी राष्ट्रपति भण्डारीको सदासहायता प्रधानमन्त्री ओलीलाई रहँदै आएको छ।

