कांग्रेसको आसन्न महाधिवेशनः निधिको चुनौतिपछि देउवाका ‘दाउपेच’ यस्ता छन्


काठमाडौं– नेपाली कांग्रेसको आगामी भदौमा हुन लागेको १४औं महाधिवेशनमा सभापति पदका आकांक्षी धेरै नेता छन्। ति मध्ये चर्चामा खुलेका छन् सभापति शेरबहादुर देउवा समूहका उपसभापति विमलेन्द्र निधि।

यसपटक सभापतिमा उम्मेदवारी दिने अठोटका साथ चर्चामा आएका निधिले सभापति देउवालाई दोहोरिन मन लागेको विषयलाई पनि कडा चुनौति दिएका छन्। उनले देउवा दोहोरिने होइन, बरु आफूलाई सहयोग गर्ने कर्तव्यमा लाग्नुपर्ने बताइसकेका छन्। तर देउवा ब्याक हुनेवाला छैनन्।

देउवा सभापतिमा जसरी पनि अगाडि बढ्ने अभ्यासमा लागेपछि निधिले सोमबार प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालासँग निवासमा भेटवार्ता गरे। यो भेटसँगै कांग्रेसको आगामी महाधिवेशनको माहौल भयानक हुनसक्ने अनुमान गरिएको छ।

आफ्ना पक्षमा वा त्यसो नभए देउवाको विपक्षमा भए पनि निधिको सक्रियता बलियो रहने लगभग पक्का भएको छ। एक हिसाबले आफूलाई सभापति पदका लागि सहयोग नगरे देउवालाई पनि दोहोरिन नदिने चुनौतिका साथ निधि सक्रिय भएका छन्। निधिनिकट एक जना केन्द्रीय सदस्य भन्छन्,‘१३औं महाधिवेशनपछि जे सहमति भएको थियो त्यसमा सभापति देउवाले इमान्दारीता देखाएका छैनन्। उनले अबको सभापतिमा निधिलाई सहयोग गर्नुपर्छ।’

निधि खुलेरै आलोचना र सभापति दोहोरिने सपनाका तगारो बन्ने देखेपछि देउवाले नयाँ दाउपेच सुरु गरेका छन्। प्रतिनिधिमा आफूनिकटको बर्चश्व बनाउनका लागि राप्रपा छाडेर आएका सुनिलकुमार थापासहित ५५ जनालाई महासमिति सदस्य दिलाउन देउवा सफल भएका छन्।

योसँगै निधिको साथ नरहेको खण्डमा कोइराला परिवारबाट सहयोगको अपेक्षासहित देउवा अगाडि बढेका छन्। त्यसका लागि उनले शशांक कोइराला र शेखर कोइराला मध्ये एक जनालाई उपसभापति र नयाँ पुस्ताबाट एक जनालाई महामन्त्रीको पद दिने अभ्यास पनि थालेको स्रोतको दाबी छ।

देउवानिकट कतिपय केन्द्रीय सदस्यले भने कृष्णप्रसाद सिटौलालाई कार्यबाहक सभापति दिएर महाधिवेशनमा चुनावी मैदानमा उत्रिनुपर्ने सुझाव दिएका थिए। तर बलियो सहयोगीका रुपमा रहेका निधि नै समूहबाट अलग हुने र स्पर्धामा आउने हुँदा सिटौलाको सहयोग मात्र पर्याप्त नहुने बुढानिलकण्ठको ठहर छ। स्रोतले भन्यो,‘सिटौलासँग तल्लो तहसम्म प्रतिनिधि र कार्यकर्तामा प्रभाव राख्न सक्ने अवस्था छैन। त्यसैले अन्य नेताहरुसँग पनि सहकार्य अनिवार्य हुनुपर्छ।’

निधिले ठूलो प्रभाव राखेको मधेसमा भने देउवाका लागि विजयकुमार गच्छादार सहयोगी हुने अपेक्षा गरिएको छ। गच्छादारका कोटामा परेका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको सहयोग रहने उनको अपेक्षा छ। यद्यपि, यतिले पनि नहुने बताइन्छ।

‘नयाँ सदस्य र प्रतिनिधिका आधारमा मात्र मैदानमा जीत निकाल्न सकिन्छ भन्ने छैन। सभापतिका लागि मैदानमा आउने धेरैसँग समन्वय र रणनीतिक साझेदारी आवश्यक हुन्छ’, देउवानिकट स्रोतले भन्यो,‘सहज छैन तर केही नयाँ सोच र समीकरणले देउवाजी फेरि सभापति निर्वाचित बन्ने सम्भावना छन्।’

प्रतिक्रिया