

मारिए उत्तरी अफगानिस्तानमा जिल्ला प्रहरी प्रमुख

तालुक्वान – अफगानिस्तानको उत्तरी तखार प्रान्तमा शनिबार राति भएको भिडन्तमा चार जना प्रहरी र सात जना तालिबान लडाकूको ज्यान गएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
तखार प्रान्तको नमक अब जिल्लाको ग्रामीण क्षेत्रमा तालिबान समूहका लडाकूहरुले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो । प्रान्ती सरकारका प्रवक्ता हमिद मुबारेजले जिल्ला प्रहरी प्रमुख र तीन अरु प्रहरीले शहादत प्राप्त गरेको जानकारी दिए ।
उनले अरु दुई जना प्रहरी र तीन जना लडाकू पनि घाइते भएको बताए । नमक अब जिल्लालाई तालिबान समूहले नियन्त्रणमा लिएसँगै त्यहाँ रहेका सुरक्षाफौजका बाँकी सदस्यहरु नजिकको जिल्लामा गएको पनि प्रवक्ता मुबारेजले बताए।
यसैबीच, कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा तालिबान समूहले प्रहार गरेको क्षेप्यास्त्र लागेर एक बच्चा सहित तीन जना सर्वसाधारणको ज्यान गएको छ । शनिबार राति सरकारी फौज र तालिबान समूहबीच शनिबार राति भिडन्त भएको थियो ।
अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो फौज फिर्ता हुनेक्रम जारी रहेसँगै अफगानिस्तानका विभिन्न भागमा हिंसात्मक झडप तिब्र भइरहेका छन् । तालिबान समूहले पछिल्लो एक महिनाको अवधिमा ४० भन्दा बढी जिल्लाहरु आफूले कब्जामा लिएको दाबी गरेका छन् ।

