निर्मान सम्पन्न भएको ५ महिना बित्दा नबित्दै हेलम्बु प्रहरी कार्यालयको पक्की भवन बाढीले बगायो


काठमाडौँ – अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन बगाएको छ ।

गएराती मेलम्ची खोलामा आएको बाढीले इलाका प्रहरी कार्यालयको तीन तले भवन ढलाएको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले जनकारी दिए ।

हेलम्बुमा प्रहरीको चौकी पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेटमार्फ निर्मित उक्त भवन संचालनमा आएको पाँचौ महिना बित्दा नबित्दै खोेलाले बगाएको हो ।

बाढीको उच्च जोखिम भएकोले प्रहरीले सो भवन छोडिसकेको थियो । भान्साको भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा राखेको प्रहरी प्रमुख लामाले बताए ।

यस्तै ग्याल्थुममा रहेको इष्ट पोइन्ट माध्यमिक बिद्यालयको भवन रहेको जमिन कटान हुँदा ढल्ने अवस्थामा पुगेको छ । हेलम्बु क्षेत्रका तालामाराङ्, ग्याल्थुम, शेरा, चनौटे, किउल, तिम्बु, अम्बाथान लगायतका स्थानमा नदी छेउ रहेका बस्तीहरु बगरमा परिणत भएका छन् ।

बाढीले क्षति पुर्याउदै आएको ४ दिन बित्दासमेत सरकारको मुख देख्न नपाएको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन् । गत असार १ गतेदेखि मेलम्ची खोलामा निरन्तर बाढी आइरहेको छ । सो बाढीले दर्जनौ ब्यक्ति बेपत्ता पारेको छ भने भौतिक संरचना तथा खेतीयोग्य जमिन तहसनहस पारेको छ ।

प्रतिक्रिया