

अनुसन्धानमा उत्कृष्ट कपिलवस्तुका एसपी र डिएसपी पुरस्कृत

काठमाडौं – लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले अनुसन्धानमा उत्कृष्ट भन्दै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक (डिसपी) धर्मराज भण्डारीलाई पुरस्कृत गरेको छ।
कार्यालयले कपिलवस्तुका नेकपा (माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेको भन्दै कपिलवस्तुका एसपी अधिकारी र डिएसपी भण्डारीलाई नगदसहित पुरस्कृत गरेको हो।
गत ५ जेठमा अज्ञात समूहले हानेको गोली लागी घाइते पाण्डेको १० जेठमा उपचारका क्रममा काठमाडौंका मृत्यु भएको थियो। प्रहरीले घटनाको २५ दिनपछि दीपकको हत्यामा संलग्न ११ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो।
लामो अनुसन्धानपछि कपिलवस्तु प्रहरीले गएको सोमबार उनकै श्रीमती महिमा पाण्डेयसहितको योजनामा दीपकको हत्या गरिएको सार्वजनिक गरेको थियो। अनुसन्धानमा गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेकै श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण रहेको खुलेको थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कपिलवस्तुका एसपी अधिकारी र डिएसपी भण्डारीलाई पुरस्कृत गरिएको जानकारी दिए।
उनले भने, ‘उत्कृष्ट अनुसन्धान गर्नेलाई पुरुस्कृत गर्ने हाम्रो नीति नै हो। राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गर्नुपर्छ। व्यावसायिक काम गर्नेको पक्षमा सधैँ संगठन रहन्छ।’

