

पोलियो खोप अभियानमा संलग्न पाँच स्वास्थ्यकर्मीको हत्या, चार घाइते

काबुल – अफगानिस्तानको नान्गरहर प्रान्तमा जारी पोलियो खोप अभियानमा संलग्न पाँचजना स्वास्थ्यकर्मीको हत्या भएको छ । घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् ।
खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्धुकधारीले अन्धाधुन्द आक्रमण गरेका सरकारी अधिकारीहरुले जनाएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीले अज्ञात बन्धुकधारीले प्रान्तीय राजधानी जलालाबाद शहर र नजिकैको खोग्यानी र सुर्ख जिल्लामा पोलियो थोपा खुवाउन खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको जानकारी दिए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सुरक्षा निकायले ती स्वास्थ्यकर्मीका लागि विशेष सुरक्षा व्यवस्था गर्न सकेका छैनन् । अफगान स्वास्थ्य मन्त्रालयले पाँच वर्षमुनिका लाखौं बालबालिकालाई पोलियो खोप दिने गरी राष्ट्रव्यापी अभियान सञ्चालन भइरहेको समयमा उक्त घटना भएको जनाएको छ ।
कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी स्वीकारेको छैन । यसअघि, गत मार्चमा पनि नान्गरहरमा भएका दुई बेग्लाबेग्लै घटनामा पोलियो खोप खुवाउने अभियानमा संलग्न दुई महिला स्वास्थ्यकर्मीको गोली हानी हत्या गरिएको थियो । विश्वमा हाल दुई मुलुक अफगानिस्तान र छिमेकी पाकिस्तानमा हरेक वर्ष पोलियोका बिरामी देखा पर्ने गरेका छन् । एजेन्सी

