

प्रधानमन्त्री विरुद्ध हिंसात्मक अभिव्यक्ति दिने वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले माग गरेको छ ।
गत शुक्रबार वाग्मती प्रदेशसभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर उनीहरुले सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटी वैद्यको अभिव्यक्तिप्रति फौजदारी कानुन समेत आकर्षित हुने भन्दै उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । तर प्रदेशसभा सदस्य वैद्यले भने आफ्नो अभिव्यक्तिको विरोध भएपछि प्रदेशसभामा माफी मागिसकेका छन् ।
अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल खेलकुद महासंघ, राष्ट्रिय युवा संघ नेपाल, मुस्लिम इत्तेहाद संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेशागत महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधिले सोमबार गृहमन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

