दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को


सिञ्जाकोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दशैँतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

कोरोना महामारीले करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक १५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाईमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले जानकारी दिए । विगतमा सुनसान रहेको रारामा अहिले घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ, उनले भने, ‘अहिले राराका आसपासका होटेल र गाउँ भरिभराउन हुन थालेका छन् ।

निकुञ्जका अनुसार यस वर्षको असोज र कात्तिकमा रारामा झण्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएका छन् । प्राय आन्तरिक पर्यटक मोटरसाइकल, जीप र हवाईमार्गबाट रारा आउने गरेको निमित्त संरक्षण अधिकृत बुढाले जानकारी दिए । रारामा घुम्न आउने पर्यटक बढेका कारण रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने गरेका छन् ।

रारा घुम्नलाई चैत, वैशाख, जेठ, भदौै, असोज र कात्तिक महिना उपयुक्त भएका कारण आन्तरिक पर्यटकको सङ्ख्या बढेको मुगु झ्यारिका रमेश रावतले बताए । प्राय पर्यटक हिउँद र वर्षा सकिएपछि रारा घुम्न आउने गरेका छन्, उनले भने, ‘त्योबाहेक अरू समयमा निकै कम मात्र पर्यटक आउने गरेका छन् ।

बिदामा रारामा जानेको सङ्ख्या बढेपछि कर्णाली राजमार्गमा रहेका होटेलमा पनि चहलपहल बढेको सिञ्जा गोठिज्युलाका होटेल व्यवसायी भक्तबहादुर बुढाले बताए । रारा घुम्न आउने पर्यटकका कारण कर्णाली राजमार्गका होटेल तथा अन्य व्यवसायमा चहलपहलको बढेको छ, उनले भने, ‘विगतभन्दा यो वर्ष दशैँतिहार बिदामा रारा आउनेको सङ्ख्या वृद्धि हुने अनुमान गरिएको छ ।

(रासस)

प्रतिक्रिया