

काठमाडौंमा आज र भोलि ६०–६१ वर्षका व्यक्तिलाई भेरोसेल खोप, तोकियो चार केन्द्र

काठमाडौं – काठमाडौं महानगरपालिकामा आज (सोमबार) देखि पुनः कोरोनाविरुद्धको खोप लगाइँदैछ । स्थगित खोप कार्यक्रम आज र भोलि सञ्चालन गर्न लागिएको हो । आज र भोलि ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाइनेछ ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप लगाइने जनाइएको छ । २५ जेठदेखि ५ दिनका लागि शुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज र भोलि गर्न लागेको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका ज्येष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न परिपत्र भएबमोजिम खोप कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
महानगरले आइतबार जारी गरेको सूचना अनुसार पहिलो डोज लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीलाई खोप लगाउन अनुरोध गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।

