पूर्वप्रधानमन्त्री बाबुरामको नजरमा दीपक मनाङे रत्नाकरबाट वाल्मिकी


काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशमा मन्त्री बनेका दीपक मनाङेका नामबाट परिचित राजीव गुरुङलाई रत्नाकर डाँकूबाट वाल्मिकीको यात्रामा हिँडेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा स्ट्याटस शेयर गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। मनाङेले शनिबार साँझ मात्र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको मन्त्रिपरिषदमा जिम्मेवारी पाएका थिए।

उक्त प्रसङ्गलाई कोट्याउँदै डा. भट्टराई लेख्छन्, ‘राजीव गुरूङ (दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसँग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्। यसलाई अन्यथा मान्नु हुन्न। मेरो सुविचारित र अनुभवजन्य मान्यता छ– कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न।’

समाज र राज्यले मान्छेलाई अपराधी बनाउने उल्लेख गरेका डा. भट्टराई अगाडि लेख्छन्, ‘वर्गीय, जातीय, लैंगिक विभेद भएको समाजमा राज्य, समाजको वर्चस्वशाली तप्काले उत्पीडित बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अतःअपराध, अपराधी एक सापेक्ष अवधारणा हो।’

२०५९–०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल बन्दीगृहको भ्रमण गरेपछि ‘नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन् अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्। त्यही सोचका साथ आफू प्रधानमन्त्री छँदा मैले जेलसुधार निम्ति तत्कालीन सांसद देवी खककड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन’ भन्ने उनले उल्लेख गरेका छन्।

उनी थप्छन्, ‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूङहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने? किन पूर्वाग्रह राख्ने?’

प्रतिक्रिया