रअ प्रमुख गोयललाई काठमाडौं घुमाउन मिडिया मालिक र विवादीत व्यापारीको ‘कनेक्सन’ भेटियो


काठमाडौं– दुई साताअघि काठमाडौं आएका भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ) प्रमुख सामन्त गोयललाई यहाँका मिडिया मालिक र केही विवादीत व्यापारीले घुमाएको प्रमाण फेला परेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा आएको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले बताएको अवस्थामा गोयल चढ्ने गाडीको बन्दोबस्तीचाहिँ अन्नपूर्ण मिडिया नेटवर्क अध्यक्ष तथा व्यापारी क्याप्टेन रामेश्वर थापा, बालाजी मार्बलका सञ्चालक राजकुमार केडियाले गरेको खुल्न आएको हो।

गोयल भारतीय प्रधानमन्त्रीका दूतमा आएको खण्डमा उनको सबै जिम्मा नेपाल सरकार या नेपालस्थित भारतीय राजदूतावासले गर्नुपर्ने थियो। तर उनी काठमाडौंमा रहँदा सवार बा१३च ३०४४, बा१३च ६६५५ र बा१०च २५९५को गाडी थापा र केडियाले तयार पारेका थिए। अर्कोचाहिँ ३–००१–०२०१ नम्बरको गाडी तयार पारिएको थियो।

यी गाडीका विषयमा पनि केही विवाद छन्। डिस्कोभरी, ल्यान्डरोभर र होन्डासीटीका महँगा गाडी बैंकमा छन्। ३०४४ नम्बरको गाडी ठूले राईले बेचेको खुल्छ भने बैंक अफ काठमाडौंमा रहेको छ। बालाजी मार्बल ऋणि रहेको ६६५५ नम्बरको गाडीलगायत अन्य बैंक अफ काठमाडौं र नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खुल्छ।

कुटनीतिक मामिला सम्बन्धी एक उच्च स्रोतका अनुसार यसरी भारतीय गुप्तचर प्रमुखका लागि नेपालका व्यापारीले खर्च गर्नुलाई शंकास्पद रुपमा लिनुपर्छ। स्रोतले भन्यो,‘यसै पनि नेपालको राजनीतिमा भारतीय गुप्तचर निकायको विषयमा बारम्बार प्रश्न आउँछन् यसै बेला राज्यका विभिन्न निकायका प्रमुख र राजनीतिज्ञसँग सम्बन्ध रहेका व्यक्तिको यो कनेक्सनलाई सकारात्मक मान्न सकिँदैन।’

रअ प्रमुख गोयलसहित अरुण जैन काठमाडौं आएका थिए। उनीहरूले प्रधानमन्त्री ओली, जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतलाई भेट गरेका थिए। गोयलको अकास्मात काठमाडौं आएको विषयले नेपालको राजनीति मात्र गर्माएको छैन, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादको मुख्य बुँदाका रुपमा नै चर्चा गरिएको छ।

‘सामान्यतया यस्ता भ्रमणमा दूतावासको सहजीकरण र सुविधा हुने गरेको छ। राज्यले पनि सुरक्षा र सवारीको व्यवस्था गर्छ। तर, व्यापारीको पहुँच कसरी भयो? भन्ने अहम् विषय अगाडि आएको छ’, उच्च स्रोतले भन्यो।  

प्रतिक्रिया