
वेल्स र स्वीट्जरल्यान्डको रोमाञ्चक बराबरी
काठमाडौं – युरोपेली च्याम्पियनसिपको समूह चरणको खेलमा वेल्स र स्वीट्जरल्यान्डले बरबरी खेल्दै अंक बाँडेका छन्। एक गोलले पछि परेको अवस्थामा वेल्सले स्वीट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो।
अजरवैजानस्थित बाकी स्टेडियम बाकुमा शनिबार राति भएको समूह ‘ए’ को खेलमा स्वीट्जरल्यान्डले खेलको सुरुवातदेखि नै वेल्सलाई दवावमा राखेपनि वेल्सको रक्षापंक्ति तोड्न सकेन।
दोस्रो हाफको सुरुमै स्वीट्जरल्यान्डले ब्रिल इम्वोलोको गोलबाट अग्रता लिन सफल भयो। उनले ४९ औं मिनेटमा जेद्रान शाकिरीको पासलाई सदुपयोग गरेका थिए।
एक गोलले पछि परेको वेल्सले सम्हालिएको खेल पस्कँदै बराबरी गोल गर्न सफल भयो। ७४औं मिनेटमा जोइ मोररेलको पासमा अनमार्क रहेका किफर मुरले फ्लिक हेडर गर्दै जाली चुमाएका थिए।
यस्तै ८५औं मिनेटमा मारियो गाभरानोभिकले गोल गरेपनि भिएआरले उनको गोललाई मान्यता नदिदा स्वीट्जरल्यान्डले अग्रता लिनबाट चुक्यो। मैदान प्रवेश गरेको केहिबेरमा नै गोल गरेको खुसी मनाएपनि उक्त गोल अफसाइड ठहरिएका थिए।
यो बराबरीपछि दुवै टोलीले समान एक अंक जोडेका छन्। शुक्रबार राति टर्कीलाई ३–० ले पराजित गरेको इटालीको ३ अंक छ। यो समूहमा टर्की अंकविहीन छ।



कागजपत्र |
