तीन प्रदेशमा फैलियो मनसुन, मंगलबारसम्म देशभर पुग्ने


काठमाडौं – प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशका जिल्लामा मनसुन भित्रिएको जानकारी दिए । पौडेलका अनुसार यो देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्नेछ ।

मौसमविद्हरूले आगामी साता मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको प्रक्षेपण गरेका छन् । केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए ।

अबका केही दिन मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस वर्ष नेपालमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् ।

साधारणतया अङ्ग्रेजी महिनाको जुन १३ देखि सेप्टेम्बरसम्मको चार महिनालाई नेपालसहित दक्षिण एशियाली क्षेत्रको मनसुन अवधि मानिन्छ ।

प्रतिक्रिया