

यसरी सफल बनाए गणेश लामाले गण्डकी मिशन, पार्टीले खटाएको थियो

काठमाडौं– दीपक मनाङे नामले चर्चित रहेका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ निर्णायक भएपछि एमाले सरकार गिराउन नेपाली कांग्रेसले काठमाडौंबाट काभ्रेका गणेश लामालाई खटाएको पुष्टि भएको छ।
पोखरा पुगेका लामाले मनाङेलाई तत्कालिन विपक्षी गठबन्धनमा जोड्नका लागि सेतुको भूमिका निर्वाह गरेका थिए। जसका कारण शनिबार कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री नियुक्त हुन सफल भएका छन्।
मनाङेलाई पोखरेल सरकारमा आन्तरिक मामला मन्त्रालय दिनेगरी सहमति गरेपछि पृथ्वी सुब्बा गुरुङको मन्त्रिपरिषदबाट राजीनामा गरी उनी तत्कालिन विपक्षी गठबन्धनमा जोडिएपछि पोखरेलको सरकार बन्ने स्थिति बनेको थियो।
लामालाई उक्त मिशनका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री पूर्णबहादुर खड्काले खटाएका थिए। लामाले भने,‘सभापति शेरबहादुर देउवा र महामन्त्री पूर्णबहादुर खड्कासहित पार्टीले जिम्मेवारी दिएका कारण गौरवान्वित भएको छु।’
लामाले सामाजिक सञ्जालमा पनि उक्त विषयको जानकारी दिएका छन्। उनले लेखेका छन्,‘अलोकतान्त्रिक सरकारको अनेकौं षडयन्त्रका बाबजुद लोकतन्त्रिक मुल्य मान्यताको बिजय भएको छ। आदरणीय दाजु कृष्णचन्द्र नेपाली इतिहास रच्दै मुख्यमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’
उनले सो क्रममा पोखरामा उनलाई प्रहरीले पक्राउ गरेको विष पनि स्मरण गरेका छन्।

