सभामुखले बोलाएको सर्वदलीय बैठक सकियोः ओली सरकार एकदिन पनि देशका लागि दुर्भाग्य


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा संसद भवनको ल्होत्से हलमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राजनीतिक स्थितिका बारेमा छलफल भएको थियो।

बैठकमा सहभागी सबै दलका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार बन्ने अवस्था हुँदाहुँदै पनि पुनः संसद विघटन गर्नु प्रतिगमन भएको साझा निष्कर्ष निकालेका छन्।

गैरसंवैधानिक रुपमा संसद विघटन गरेर काम चलाउ बनेको सरकारले निरन्तर मन्त्रिपरिषद विस्तार गरेर अर्को नौटंकी प्रदर्शन गरेको शीर्ष नेताहरुले धारणा राखेका छन्।

जसपाका संघीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका अनुसार संसद विघटन गरेर अध्यादेशमार्फत देश चलाउने खोज्ने ओली प्रवृत्ति एक दिन देशका लागि घातक हुने बैठकको निष्कर्ष छ।

सरकारले अध्यादेशमार्फत बजेट ल्याएर देशको चुरे क्षेत्र र अन्य प्राकृतिक क्षेत्रहरुको दोहन गरेर देशलाई थप जर्जर बनाउँदै लगेकोमा सबै दलका नेता एकमत रहेको भट्टराईले बताए।

भट्टराईले प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि नभई विद्यमान संविधानलाई विध्वांस पार्न प्रतिनिधिसभा विघटन गरेर अध्यादेशको बलमा मुलुक चलाइरहेको आरोप लगाए।

बैठकमा सहभागी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले संसद, लोकतन्त्र, संविधानमाथि प्रहार गरेर संविधानलाई क्षतविक्षत गर्ने काम गरेकोमा संविधानको रक्षाका लागि उभिनुपर्ने राष्ट्रपति आफैं संविधानलाई ध्वंश गर्ने कार्यमा सरिक भएको बैठकको निष्कर्ष रहेको बताए।

त्यसैले लोकतन्त्र र संविधानको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु एकजुट भएर जाने निर्णय आजको बैठकले निकालिएको यादवले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर अनुपस्थित थिए भने एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उपस्थित थिए।

यस्तै पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल भने अस्वस्थ्यताका कारण भर्चुअल रुपमा सहभागी भएका थिए। जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, राप्रपाका नेता दीपक बोहोरालगायत नेताहरु उपस्थित थिए।

प्रतिक्रिया