

अफगानिस्तानमा क्रुरताः १० सफाइ कर्मचारीको गोली हानी हत्या

काठमाडौं – अफगानिस्तानमा बन्दुकधारीको आक्रमणबाट १० जना सफाइ कर्मचारी मारिएका छन् । उत्तरी अफगानिस्तानको बगलानस्थित एक ट्रष्टमा कार्यरत सफाइ कर्मचारीमाथि नकाबधारीहरुले गोली प्रहार गरी हत्या गरेका हुन् । घटनामा एक दर्जनभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
अफगानी अधिकारीहरुले तालिवानीलाई आरोप लगाए पनि इस्लामिक स्टेट (आइएस) ले सो घटनाको जिम्मेवारी लिएको बताइएको छ । अफगानिस्तानमा गत मे १ देखि अमेरिकी सेना फिर्ता भएसँगै हिंसाका घटनाहरु फेरि बढ्न थालेका छन् ।
अफगान सरकार र विद्रोही तालिवानबीच शान्ति वार्ता अघि बढ्न नसकिरहेका बेला अमेरिकी सेनाको बर्हिगमनसँगै हिंसाका घटनाहरु बढ्न थालेपछि सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । बन्दुकधारीले स्थानीय अल्पसंख्यक समुदाय हजारामाथि आक्रमण गरेको बताइएको छ ।
अफगानिस्तानमा हजारा तेस्रो ठूलो अल्पसंख्य समुदाय हो । हालैका वर्षहरुमा उनीहरुले आईएस, तालिवानी समूहको अपहरण र हत्याको सामना गरिरहेका छन् ।

