

सामाजिक सुरक्षा कोषलाई नेपाल वित्तिय संस्थाका कर्मचारी संघको यस्ताे आग्रह!

काठमाडौं – नेपाल वित्तिय संस्था कर्मचारी संघले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन जबरजस्ती नगर्न आग्रह गरेको छ।सङ्घले कोषलाई पत्र लेख्दै कर्मचारीलाई मन लागेमा कोषमा आबद्ध हुन सक्ने व्यवस्था गर्न आग्रह गरेको हो ।
सङ्घले लेखेको पत्रमा भनिएको छ,’कोषमा आबद्ध हुन चाहने कर्मचारीलाई मात्र त्यहाँ आबद्ध हुने व्यवस्थाका लागि अनुरोध छ ।’ सङ्घले हालको अवकाश कोषहरूमा आबद्ध हुन चाहने कर्मचारीहरूलाई त्यतै लाग्न दिन बाटो खुला गर्न भनेको छ ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने नेपाल सरकारको लक्ष्यको सन्दर्भमा योगदानकर्ता जसको लागि कानुन बनाइएको छ उसैलाई दुखी बनाउँदा न सरकारको उद्देश्य प्राप्ति हुन्छ न सम्बन्धित संस्थाको श्रम सम्बन्ध राम्रो हुन्छ’-सङ्घले भनेको छ।

