बुढीगण्डकीले बगाउँदा मलामी गएका ३ जना बेपत्ता, त्रिशुलीमा पनि ३ जना हराए


बुढीगण्डकी नदीले बगाउँदा वेपत्ता युवाहरुको फोटो। तस्बिर: सञ्जित दुवाडी

काठमाडौं – मंगलबार बुढीगण्डकी नदीले बगाउँदा ३ जना युवक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–२ बस्ने अन्दाजी २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन्।

वडा नम्बर २ कै जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका तिनैजना नदीमा नुहाउने क्रममा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए।

मंगलबार दिउँसो सवा ३ बजेतिर बेपत्ता भएका हुन्। बेपत्ता भएका तीनै जनाको प्रहरीले गाउँलेको सहयोगमा खोजी गरिरहे पनि अहिलेसम्म भेटाउन सकिरहेको छैन।

यस्तै मंगलबार नै धादिङको त्रिशुली नदी गजुरी खण्डमा ३ जना एकैदिन वेपत्ता भएका छन्। त्रिशुली नदी गजुरी खण्डमा ब्यारेक पछाडी सवा ४ बजे माछामार्न गएका ३ जना वेपत्ता भएका हुन्।

सिद्धलेक–६ बस्ने २८ वर्षिय राम बहादुर बिसंखेलगायत ३ जना त्रिशुली नदीमा जाल हान्ने क्रममा बेपत्ता उनीहरुको समेत शव भेटिएको छैन्। उनीहरुको समेत प्रहरीले खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रिया