

काठमाडौंसहित यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं – नेपालमा पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य स्थानमा आंशिक बदली रहने छ ।
प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै विभागले आज राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने जनाएको छ । प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
यस्तै आज काठमाडौं उपत्यकामा अपरान्ह्पछि क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छिन् । अबको केही दिनमा मनसुन शुरु हुने जनाइएको छ । औसतमा मनसुन शुरु हुने दिन जुन १३ लाई मानिए पनि यो वर्ष केही दिन अगाडि नै मनसुन शुरु हुने मौसमविद् कँडेल बताउँछिन् । ‘ठ्याक्कै तोकेर यही दिनबाट मनसुन शुरु हुन्छ त भन्न सकिँदैन । तर, जुन १३ भन्दा केही अगाडि नै यो वर्ष मनसुन शुरु हुने देखिएको छ’, उनले भनिन् ।

