आज विश्व खाद्य स्वच्छता दिवसः खाद्य अधिकार र स्वास्थ्यलाई प्राथमिकतामा प्रधानमन्त्रीको दाबी


काठमाडां – ‘आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन’ भन्ने नारासहित आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदैछ । सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो ।

त्यसयता सन् २०१९ देखि हरेक वर्ष विश्व खाद्य स्वच्छता दिवस मनाइन्छ । सरकारले गुणस्तरीय खाद्य पदार्थ उपलब्धताको सुनिश्चितताका लागि काम गरिरहेको दाबी गरेको छ । तर, मिसावट र अखाद्य वस्तुको प्रयोग बढ्दै जाँदा उपभोक्ता भने गुणस्तरहीन खाना खान बाध्य हुनु परेको अवस्था छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले आयात गरिएकाे खाद्य वस्तुको नियमनलाई प्रभावकारी बनाउन छिटो छरितो र भरपर्दो रुपमा परीक्षण गरी प्रभावकारी नियमन गर्ने व्यवस्था मिलाउन मन्त्रालयले पहल गरिरहेको बताए ।

यस्तै, दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको खाद्य अधिकार र स्वास्थ्य सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । खाद्यवस्तु स्वच्छताका लागि सरकारले निरोगी नेपालको अवधारणा अघि सारेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले सन्तुलित, पोसिलो तथा स्वच्छ खानाको उपभोग गर्न र व्यक्तिगत सरसफाइ कायम राख्न अपिल गरे।

प्रतिक्रिया