कोरोना र निमोनियाले राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको अवस्था गम्भीर


काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालका उपप्रधानमन्त्री चित्रबहादुर केसी कोरोना भाइरस (कोभिड–१९)का कारण सकसमा छन्।

भैंसेपाटीमा रहेको मेडिसीटी अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। अन्य रोगसँग लडिरहेका उनलाई निमोनिया भएको पार्टीले जनाएको छ। उनको अवस्था गम्भिर रहेको एउटा विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

उपचारका निम्ति महँगो शुल्क लाग्ने भएपछि पार्टीले राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर जारी गर्दै आर्थिक सहयोगको अपिल गरेको छ। खासमा उनी राज्यले हेर्नैपर्ने राजनीतिज्ञ हुन्।

जीवनमा सार्वजनिक पदमा बसेर कुनै सुविधान नलिएका उनको उपचारका लागि सरकारले कुनै प्रकारको ध्यान दिन सकेको छैन। केसी भेन्टिलेटरमा रहे पनि हाईप्रोफाइल कम्युनिस्ट भनिने नेता उनको अवस्था बुझ्न पुगेका छैनन्।

केसी अहिलेका सत्तारुढ नेकपाका धेरै नेताका ‘हेडसर’ हुन्। संघीयता खारेजी तथा राष्ट्रिय स्वाधिनताका लागि स्पष्ट बोल्ने केसीले सत्तामा पुगेपछि कम्युनिस्ट विग्रिएको आरोप लगाउँदै आएका थिए। बृद्ध अवस्थाका केसीलाई उपचारमा सहयोग गर्न परिवार र उनका समर्थकले पनि अपिल गरेका छन्।

प्रतिक्रिया