संसद विघटन मुद्दामा नयाँ इजलाससहित सुनुवाई आज, को-को न्यायाधीश रहन्छन् त इजलासमा ?


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलगायतका मुद्दामा आज सुनुवाई हुने भएको छ ।

संवैधानिक इजलासमा सुनुवाई भइरहेको मुद्दामा बहसका क्रममा अधिवक्ताहरुले न्यायाधीशहरुको छनोटप्रति असन्तुष्टी जनाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यी ३० मुद्दाहरूमा सुनुवाइ गर्न नयाँ संवैधानिक इजलास गठन गर्ने बताएका थिए। सोही अनुरुप आजको सुनवाईमा नयाँ न्यायाधीशहरुको चयन हुने सम्भावना रहेको छ ।

यदि प्रधानन्याधीश राणाले गठन गर्ने भनेको नयाँ इजलासमा सर्वोच्चका न्यायाधीशहरुमध्ये बरिष्ठताको आधारमा इजलास गठन गरिए न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई नै रहनुपर्ने देखिन्छ । न्यायाधीश भट्टराईले यसअघि इजलासबाट बाहिरिने घोषणा गरे पनि बरिष्ठताको आधारमा प्रधानन्यायधीश राणाले इजलास गठन गरेको खण्डमा पुनः इजलासमा बस्नुपर्ने हुन्छ, अन्यथा प्रधानन्यायाधीशविरुद्ध गएको ठहर हुनसक्ने भएकाले उनी पनि इजलासमा पर्ने सम्भावना रहेको छ ।

यसअघिको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यी मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेपछि विवाद उत्पन्न भएको थियो। त्यस्तै आनन्दमोहन भट्टराई र  दीपककुमार कार्कीले आफूहरू पनि अलग हुने निर्णय गरेका थिए।

तर, प्रधानन्यायाधीश राणाले सर्वोच्च बार पदाधिकारीसँगको छलफल र सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठकमा वरिष्ठताको आधारमा इजलास गठन गर्ने सहमति जनाएका छन्।

आजको इजलासमा बरिष्ठताको आधारमा को–को न्यायाधीश पर्छन् भन्ने अहिले नै केही भन्न नसकिने अवस्था रहेपनि हरिकृष्ण कार्की प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वकालमा महान्यायाधिवक्ता रहेकोले उनको पनि सम्भावना कम रहेको छ । त्यसकारण उनी पछि छैठौं वरीयतामा रहेका न्यायाधीश खतिवडा र पाँचौं वरियताका न्यायाधीश विश्वम्भर श्रेष्ठ बिरामी भई आइसोलेसनमा रहेकाले सातौं वरीयताका आनन्दमोहन भट्टराई पुनः नयाँ इजलासमा पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया