

सरकारले ढुंगा-गिट्टी निकासीको निर्णय फिर्ता नगरे सत्याग्रह थाल्ने शान्ति समाजको चेतावनी

बुटवल – सरकारले ढुंगा गिट्टी निकासी गर्ने निर्णय फिर्ता नगरे सत्याग्रह आन्दोलन गर्ने मानवअधिकार तथा शान्ति समाजले
चेतावनी दिएको छ ।
विश्व वातावरण दिवसका अवसरमा शनिबार समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय सत्तासँग माटो बेच्ने वातावरणीय प्रतिगमन भएको बताएका छन् ।
शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल ब्यालेन्स)मा जोड दिंदै हिमालय बचाऊ आन्दोलन समेत सञ्चालन गरिरहेको उल्लेख गर्दै सभापति खनालले ढुंगा गिटी निकासीको निर्णय नसच्याए सत्याग्रह आन्दोलन शुरु गर्ने उल्लेख गरेका छन् ।
‘वातावरण विनाश गर्ने सरकारको यो नीतिले नेपालको दक्षिणको मैदानी इलाका मरुभूमिकरण हुने खतरा रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो आत्मघाती कदम वातावरणीय प्रतिगमन हो, छिमेकीलाई रिझाउन अंगदान गर्न सकिंदैन ।’ सरकारको यो निर्णय फिर्ता गराउन समाजका सबै तह र तप्काको सामूहिक पहल र दबाब आवश्यक रहेकोमा सभापति खनालले जोड दिएका छन् ।

