


परराष्ट्रमन्त्रीबाट हट्नेबितिकै ज्ञवाली गरे सम्पत्ति सार्वजनिक, आज सरकारी निवास छाड्ने

काठमाडौँ – निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारबाट बाहिरिँदै गर्दा आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गरेका छन्।
ज्ञवालीले झण्डै सवा ३ वर्ष परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले पाएको तलब-भत्ताबाट पार्टीलाई दिएको लेभी र कर कट्टीपछिको बचत विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
उनले मन्त्री कालमा विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरी ९ लाख ३४ हजार ९३० रुपैयाँ पार्टीको खातामा जम्मा गरिएको उल्लेख गरेका छन्।
साथै, कर बापतको ३ लाख ७२ हजार ४९१ रुपैयाँ सरकारी कोषमा दाखिला गरिएको र हाल आफ्नो बैंक खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ बचत रहेको विवरण ज्ञवालीले सार्वजनिक गरेका छन्।
उनले आफू मन्त्री हुँदा घरमा केही सामान र दुई सय जति पुस्तकहरू थपिएको उल्लेख गरेका छन्। ज्ञवालीले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन र ल्यापटप हिजै मन्त्रालयलाई फिर्ता गरिसकेको र आज पुल्चोकस्थित सरकारी निवास छाड्ने तयारी रहेको पनि जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने ज्ञवाली हाल एमाले प्रवक्ताको जिम्मेवारीमा छन्। परराष्ट्रमन्त्रीमा रघुवीर महासेठ नियुक्त भएका छन्।

