
माआवादी नेतृत्वको सरकारमा सहभागी भएका एमाले मन्त्रीहरूको आरोप- कारवाही सिफारिस षड्यन्त्रपूर्ण र अनुचित
कैलाली – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेका माधव नेपाल पक्षका ७ जना नेताले आफूहरुमाथि कारबाहीको सिफारिस गर्नु पूर्वाग्रहपूर्ण भएको बताएका छन् ।
माआवादी नेतृत्वको सरकारमा सहभागी एमालेका ६ मन्त्रीसहित ७ जनाले आफूहरूमाथि थालिएको कारवाही प्रक्रिया षड्यन्त्रपूर्ण र अनुचित भएको बताउँदै सयुक्त विज्ञप्तिमार्फत आफूहरूमाथि लगाइएको आरोप निराधार र गलत रहेको जिकिर गर्दै कारवाही सिफारिसको विरोध गरेका छन् ।
‘हामीमाथि आवश्यक कारवाहीको लागि सिफारिस भन्नु षड्यन्त्रपूर्ण र अनुचित छ’ विज्ञप्तिमा भनिएको छ, ‘हामीविरुद्ध कारवाहीको लागि माग गरिएको आधारको रूपमा उल्लेख गरिएका पार्टी एकतालाई विखण्डन गर्ने पार्टी फुटाउने भन्ने लगायतका आरोपहरू निराधार र गलत छन् ।’
भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र सचेतक दुर्गाकुमारी कामीले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारमाथिको समर्थन फिर्ता गर्न पार्टी सातैजनालाई पार्टी निर्णयविरुद्ध सरकारमा सहभागी भएको भन्दै एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले निर्धारित समयमा स्पष्टीकरणको जवाफ नदिएपछि सोमबार कारवाहीको सिफारिस गरिएको छ ।



कागजपत्र |
