

यी हुन् सेतो प्लेटको गाडीमा युवती लिएर स्वयम्भूमा प्रेमलाप गर्ने सरकारी अधिकारी

काठमाडौं– निषेधाज्ञाका समयमा सरकारी नम्बरप्लेटको गाडीमा युवती लिएर स्वयम्भू डाँडामा प्रेमलाप गर्ने व्यक्ति सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठ रहेको खुलेको छ।
आइतबार बिहान ११ बजे कार्यालय समयमा प्रदेश नं. ३–०१–००२झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती लिएर श्रेष्ठ स्वयम्भूको डाँडामा पुगेका थिए। उनले प्रेमलाप गरेको तस्बिर र भिडिओ सार्वजनिक भएको थियो।
श्रेष्ठले नै युवतीलाई लिएर त्यहाँ रोमान्स गर्न गएको खुलेको हो। गाडीको खोजी सुरु हुनुका सार्थ गृह मन्त्रालयले पनि चासोका साथ खोजी गर्दा श्रेष्ठको रहेको खुलेको हो।
भिडिओ र तस्बिरमा अनुहार प्रष्ट नखुले पनि गाडी नम्बरका आधारमा परिचय खुलेको हो। सरकारी नम्बर भएका गाडीलाई निषेधाज्ञाका क्रममा प्रहरीले चेकजाँच गर्दैन।
सरकारी गाडीमा पुगेका ती जोडीले अनैतिक गतिविधि देखाउन थालेपछि स्थानीयले पत्रकारलाई खबर गरेका थिए। उक्त तस्बिर र भिडिओ पत्रकार छायाँचन्द्र भण्डारीले सामाजिक सञ्जालमा राखेका थिए।
पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिएर त्यहाँबाट निस्किएका थिए। घटनाको छानबिन गरी कारबाहीको प्रक्रिया बढाइने गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताएका छन्।

