ओली र नेपाल पक्षका नेताबीच मध्यरातमा वार्ता, आज एमाले स्थायी कमिटी बैठक


काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा दुई पक्षका दोस्रो तहका नेताबीच सोमबार मध्यराती वार्ता भएको छ।

दरबारमार्गस्थित याक एन्ड यति होटलमा भएको वार्तामा कसरी एकता जोगाउने भन्ने विषयमा कुराकानी भएको थियो। खासगरी नेपाल पक्षले एमाले २ जेठ, ०७५ को पूर्ववत अवस्थामा फर्काउने विषयमा कुराकानी चलेको थियो।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदिप ज्ञवाली सहभागी थिए भने नेता माधवकुमार नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए।

एमाले बिभाजनको बाटोमा जान नदिनका लागि मध्यमार्गी सहमतिको बाटो निकाल्नु पर्ने दुवै पक्षका नेताको पहल छ। वार्तामा के प्रगति भयो भन्नेबारेमा औपचारिक जानकारी आउन सकेको छैन।

यसैबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्ने भएको छ। दुई दिनसम्म सरेको उक्त बैठकमा स्पष्टिकरण सोधिएका नेपाल पक्षका १२ नेतालाई कारबाही गर्ने कि नगर्ने भन्ने एजेन्डा प्रस्तुत हुने बताइन्छ।

प्रतिक्रिया