यसकारण खोप कुटनीतिमा सक्रिय भइन् राष्ट्रपति भण्डारी


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले शक्तिशाली मुलुकका राष्ट्राध्यक्षहरूसँग यसै साता टेलिफोन र पत्राचारमार्फत कोरोनाविरुद्धको खोप सहयोगको कुटनीतिक संवाद गरेकी छन्।

जसको प्रभावका आधारमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिनको घोषणाअनुसारको १० लाख डोज खोप सोमबार काठमाडौं आउँदैछ।

चुनावको तयारीमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको अनुरोधका आधारमा नै राष्ट्रपति भण्डारी सक्रिय भएकी हुन्। सरकारप्रति उनको केही झुकाव रहेको चर्चा सतहमा चलेकै छन्।

राष्ट्रपति भण्डारीले आइतबार रसियाका राष्ट्रपति भ्लादिमर पुटिन, त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग नेपाललाई खोप उपलब्ध गराइदिनका लागि कुटनीतिक पत्राचार र संवाद गरेकी थिइन्।

सरकारले चुनावअघि नै प्रत्येक मतदातालाई खोप लगाउने तयारीअनुसार कतिपय खरिद र कतिपय अनुदानमा लिने आन्तरिक रणनीति तयार गरेको छ। प्रधानमन्त्री तहमा प्रधानमन्त्री ओलीले र राष्ट्राध्यक्षको तहमा राष्ट्रपति भण्डारीले उक्त कुटनीतिक संवादलाई तिव्रता दिएका छन्।

उच्च स्रोतका अनुसार सरकारले युरोपका कतिपय मुलुकसँग पनि खरिदका लागि प्रक्रिया अगाडि बढाएको छ भने कतिपय मुलुकसँग सहयोग पनि माग गरेको छ। यसै सन्दर्भमा बेलायतले नेपाललाई २० लाख डोज खोप दिने घोषणा गरेको थियो।

‘दक्षिण एसीयामा भारतपछि हामी नै धेरै खोप लगाउने मुलुक हौं, चुनावसम्ममा प्रत्येक मतदाता र नागरिकमा यसको पहुँच हुने तयारी र अभ्यास जारी छन्’, सरकारका एक उच्च अधिकारीले भने,‘यसैअनुसार पनि स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकताका साथ राखिएको हो।’

आन्तरिक राजनीतिमा विपक्षी दलहरुले जति बिरोध गरे पनि सरकारले उपल्लो तहदेखि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको तहसम्म समकक्षीसँग वार्ता गरी खोपलाई छिटो भन्दा छिटो नेपालमा भित्राउने पहल जारी राखेका छन्। ‘यहि तयारीअनुसार राष्ट्रपति ज्यु पनि खोप कुटनीतिमा सक्रिय हुनु भएको हो’, उच्च स्रोतले भन्यो।

चुनावअघि कोरोना बिरामीलाई उपचारदेखि स्वास्थ्यमा कुनै कमजोरी नहोस् भन्नका लागि युनिफाइड अस्पताल अवधारणामा सरकार सक्रिय रहेको छ। जसको नेतृत्व स्वास्थ्य मन्त्रालयका सह–सचिव डा. जागेश्वर गौतमले गरेका छन्।

व्यवस्थापकीय काममा सक्रियता दिलाउनका लागि माओवादी सेना समायोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका नेपाली सेनाका पूर्वसहायक रथी बालानन्द शर्मालाई अधिक अधिकार दिएर जिम्मेवारी दिइएको छ।

‘उहाँले विदा भन्न पाउनु हुनेछैन। सोही रणनीतिअनुसार नै उहाँलाई कोभिड संकट व्यवस्थापन केन्द्रको प्रमुख कार्यकारी अधिकारीका रुपमा नियुक्त गरिएको हो’, उपप्रधानमन्त्री ईश्वर पोखरेल भन्छन्,‘कुनै पनि प्रकारको विवाद नहोस् र फटाफट काम होस् भन्ने नै सरकारको अभ्यास हो।’

प्रतिक्रिया