मजदूर वर्गका लागि राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग


कैलाली – नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलले जारी निशेधाज्ञाका कारण प्रभावित भएका मजदूर वर्गका लागि राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गरेको छ ।

काँग्रेस सुदूरपश्चिम संसदीय दलको आज बसेको बैठकले कोभिड-१९ सङ्क्रमणका कारण जारी निशेधाज्ञाले प्रभावित भएका ज्यालादारी गरेर खाने मजदूर वर्गका लागि तत्काल राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको बताइएको छ ।

संसदीय दलका नेता डा। रणबहादुर रावलले सरकारले अहिलेसम्म मजदूरका लागि राहत प्याकेज नल्याएकाले तत्काल सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताए । अगामी वर्षको नीति तथा कार्यक्रम र बजेट कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण, सन्तुलित एवं समयानुकूल ल्याउन समेत सरकारलाई सुझाव दिइने उनको भनाइ छ ।

नेता डा रावलले प्रदेश सरकारले संविधानभन्दा बाहिर गएर आफ्नो सरकार सुरक्षित राख्न मन्त्रीमण्डल विस्तार गरेको आरोप लगाए । उनले भने ‘कोरोना महामारीमा जनताको काम गर्नुको सट्टा प्रदेश सरकार सत्ता टिकाउने खेलमा लागिपरेको छ ।’

प्रतिक्रिया