

विश्वमा कोरोना तथ्यांकः विश्वका यी मुलुकमा यस्ता छन् कोरोना प्रभाव

काठमाडौं – नेपालको छिमेकी मुलुक भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घट्दै गइरहेको छ ।
कुनै बेला एक लाखको हाराहारीमा संक्रमित थपिने गरेको भारतमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या सबैभन्दा धेरै रहेको छ । हालसम्म ८६ लाख ३५ हजार ७ सय ५४ संक्रमित रहेको भारतमा ८० लाख भन्दा बढी कोरोनामुक्त भइसकेका छन् ।
पछिल्लो २४ घन्टामा ४४ हजार ६ सय ७९ जना नयाँ संक्रमित थपिएको भारतमा ५ सय ११ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार ६ सय १५ रहेको छ ।

अमेरिकामा भन्दा करिब १९ लाख कम संक्रमित रहेको भारतमा अमेरिकामा भन्दा १४ लाख बढी कोरोनामुक्त भइसकेका छन् । अमेरिकामा हालसम्म १ करोड ५ लाख संक्रमितमध्ये ६६ लाख मात्र संक्रमण मुक्त भएका छन् ।
संक्रमित सूचीको दोस्रो स्थानमा रहेको भारत मृतकको सूचीमा तेस्रो स्थानमा रहेको छ । भारतमा भन्दा धेरै अमेरिकामा २ लाख ४५ हजार र ब्राजिलमा १ लाख ६२ हजारको मृत्यु भइसकेको छ ।
विश्वभरका संक्रमितमध्ये २२ प्रतिशत संक्रमित अमेरिकामा रहेका छन् भने हालसम्म कोरोनाका कारण ज्यान गुमाएका विश्वका १९ प्रतिशत भन्दा धेरै अमेरिकाका नै रहेका छन् ।
पछिल्ला दिनमा युरापेली मुलुकहरु फ्रान्स, इटाली, बेलायत, रसिया, स्पेन, पोल्यान्ड, जर्मनी जस्ता मुलुकहरुमा संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ भने ब्राजिल, भारत, मेक्सिको जस्ता मुलुकहरुमा घट्दो दरमा रहेको देखिएको छ ।

पछिल्लो २४ घन्टामा ९ हजार भन्दा बढीको मृत्यु भएकोमा अमेरिकामा मात्रै १ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।
कोरोनाको सबैभन्दा कहालीलाग्दो तथ्यांक फ्रान्समा देखिएको छ । पछिल्लो २४ घन्टामा ८ सय ५७ जनाको मृत्यु भएको फ्रान्समा कोरोनामुक्त हुने दर ज्यादै न्यून रहेको छ । फ्रान्समा हालसम्म संक्रमित १८ लाख २९ हजार ६ सय ५९ मध्ये जम्मा १ लाख ३१ हजार ९ सय २० मात्र कोरोना निको भएका छन् ।
फ्रान्सका अस्पतालहरुमा कोरोनाका बिरामीहरुले भरिएसँगै सीमावर्ती क्षेत्रका बिरामीहरुलाई उपचारका लागि जर्मन लगिएको जनाइएको छ । फ्रान्समा अहिलेको अवस्थामा पनि १६ लाख ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२ हजार २ सय ७ जना पुगेका छन् ।

संक्रमित संख्याको आधारमा मेक्सिको विश्वमा सबैभन्दा धेरै मानिस गुमाउने सूचीमा रहेको छ । मेक्सिकोमा हालसम्म ९ लाख ७२ हजार ७ सय ५८ संक्रमित भएकोमा ९५ हजार २ सय २५ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाको उद्गमस्थान मानिएको चीनमा हालसम्म जम्मा ८६ हजार २ सय ६७ जना संक्रमित देखिएका छन् । पछिल्ला दिनमा न्यून संख्यामा संक्रमित थपिएका छन् । चीनमा हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ ।
कोरोना परिक्षणमा पनि सबैभन्दा धेरै संक्रमित मुलुक अमेरिका नै अगाडि रहेका छ । हालसम्म १६ करोड ५ लाख ९४ हजार ५ सय २६ जनाको कोरोना परिक्षण गरिसकेको अमेरिका पछि कोरोना उद्गमस्थल चीनमा परिक्षण गरिएको छ । चीनमा हालसम्म १६ करोड जनाको कोरोना परिक्षण गरिएको छ भने भारतमा हालसम्म ११ करोड ९६ लाख १५ हजार ८ सय ५७ जनाको कोरोना परिक्षण गरिएको छ ।

पछिल्लो २४ घन्टामा विश्वभर ५ लाख ४१ हजार ६ सय ६६ जना नयाँ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको संख्या ५ करोड १७ लाख ९६ हजार ३ सय २१ पुगेको छ । त्यस्तै ९ हजार १ सय ८१ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ लाख ७८ हजार ५ सय २९ पुगेका छन् ।
हालसम्मका संक्रमित मध्ये ३ करोड ६३ लाख ८४ हजार ९ सय ३६ जना कोरोनामुक्त भइसकेका छन् भने १ करोड ४१ लाख ३२ हजार ८ सय ५६ जना सक्रिय संक्रमित रहेको तथ्यांक सार्वजनिक भएको छ ।

