

रवीन्द्र अधिकारीको नाममा योगेश भट्टराईले ‘चित्त दुखाउनु’को कारण

काठमाडौं– सरकारले आर्थिक बर्ष २०७८–७९ को बार्षिक बजेटका सुनाउने क्रममा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको स्मरण गर्न सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने निर्णय लिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट सुनाउने क्रममा ताप्लेजुङको सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल राख्ने निर्णय गरेको उल्लेख गरे।
एमालेका एक होनाहार नेताको निधन ताप्लेजुङमा भएका कारण उक्त विमानस्थलको नाम स्मरणका लागि परिवर्तन गर्न लागिएको हो। तर, यस विषयमा एमालेका अर्का युवा नेता योगेश भट्टराईले चित्त दुखाएका छन्।
भट्टराईको निर्वाचन क्षेत्रमा उनीसँग परामर्श नलिइकन नै गरिएको निर्णयमा उनले आपत्ति नै नजनाए पनि घुमाउरो पारामा उक्त नाम अस्वीकार्य रहेको भावमा प्रतिक्रिया जनाएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ताप्लेजुङ् सुकेटार विमानस्थलका बारेमा, ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ।’
उनले भनेका छन्, ‘यसरीमात्र सहभागितामुलक लोकतन्त्र बलियो हुनसक्छ। असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ।’
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीइतरको समूहमा रहेका उनको यो टिप्पणीको अर्थ आफ्नो निर्वाचन क्षेत्रमा सरकारले हस्तक्षेप गरेको भन्ने बुझाई हो।
सरकारका एक अधिकारीका अनुसार बजेट बनाउनका लागि सम्बन्धित विषयमा नेताहरुसँग परामर्श गरिएको थिएन। भट्टराईको टिप्पणी उनको राजनीतिक पृष्ठभूमी र निर्वाचन क्षेत्रसँग जोडिएका कारणले आएको हो।

