प्रचण्डले गरे कार्यकारी अधिकारको प्रयोगः ओलीलाई काउन्टर दिँदै सचिवालय बैठक डाकियो


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारको प्रयोग गर्दै पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक डाकेका छन्।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर दिँदै प्रचण्डले आफ्नो अधिकारको प्रयोग गरेका हुन्। मंगलबार ४ बजेका लागि सचिवालय बैठक डाकिएको हो।

उक्त बैठकबारे प्रधानमन्त्री ओलीलाई समेत जानकारी दिइएको छ। कर्णाली प्रदेशमा पार्टीको विवाद, सहमति बिना मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियक्तिका लागि सिफारिस र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ ‘रअ’का प्रमुख सामन्त गोयलसँग भेट गरेको विषयमा असन्तुष्टि छ।

प्रदेश १ का नेता कार्यकर्तासँग भर्चुअल बैठक गरी जनताको बहुदलीय जनवाद पक्षधर एक हुन गरेको आह्वानलगायतका विषयमा ओलीसँग प्रचण्डको मतभेद हुँदै टिठलाग्दो सम्बन्ध बनेको छ।

प्रचण्डसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले लिखित रुपमा बैठक बोलाउन ओलीलाई आह्वान गरेका थिए।

ओलीले दुई अध्यक्षबीचको सहमतिका आधारमा नै बैठक बस्ने जवाफसहित महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य तथा लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई दूतका रुपमा खुमलटार पठाएका थिए।

प्रतिक्रिया