भारतीय अधिकारीहरूको नेपाल दौडः विदेश सचिव श्रृङ्गलाको ‘अर्थपूर्ण’ काठमाडौं यात्रा निश्चित


काठमाडौं– भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गला नेपाल भ्रमणका लागि आउने निश्चित भएको छ। उनको यो भ्रमण अर्थपूर्ण रहेको बताइन्छ।

नेपाल–भारत सीमालगायतका विवाद समाधानका निम्ति परराष्ट्र सचिव र मन्त्रीस्तरीय भ्रमणको पूर्वतयारीमा उनको भ्रमण हुन लागेको बताइन्छ। आगामी महिना श्रृङ्गला काठमाडौं आउन लागेका हुन्।

भारतसँगको कुटनीतिक सम्बन्ध सुधारिएको वा भारतीय कुटनीति नेपाली राजनीतिमा हावी भएको भन्ने दुईथरी संश्लेषणका आधारमा यो भ्रमणलाई व्याख्या गरिएको छ। यसै साता भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे र त्यसको केही दिनअघि गुप्तचर निकाय प्रमुख सामन्त गोयलको काठमाडौं भ्रमण भएको थियो।

दुई देशको बिचमा सन् २०१४ मा सुस्ता र कालापानीको विषयमा परराष्ट्र सचिव तहमा कुराकानी गर्ने सहमति भएको थियो तर सीमा केन्द्रित एउटा बैठक पनि बसेको छैन। यस पटक उक्त विषयमा कुराकानी हुने बताइन्छ।

अघिल्लो महिनासम्म भारतसँग नेपालको सम्बन्ध चिसिएको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्ध सुधारको लयमा रहेको बताएका थिए। त्यहि पृष्ठभूमीमा गोयल र नरवणेको भ्रमण भएको थियो।

भारतीय विदेश मन्त्री तथा विदेश सचिवको भ्रमणलाई राजनीतिक विषयमा पनि अर्थपूर्ण रुपमा हेरिन्छ। नेपालका लागि अझ भारतीय विदेश मन्त्रालयका अधिकारीको औपचारिक या अनौपचारिक भ्रमणले ठूलो राजनीतिक अर्थ राख्दै आएको छ।

त्यसको पछिल्लो उदाहरण तत्कालिन विदेश सचिव तथा हालका विदेशमन्त्री एस जयशंकरको भ्रमण थियो। संविधान निर्माणका बेला उनी प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपाल आएका थिए।

पछिल्लो पटक गोयल मोदीको दूतका रुपमा आएको प्रधानमन्त्री ओली स्वयंले स्पष्ट पारेका छन्। गोयल नयाँ दिल्ली जानासाथ नरवणेको औपचारिक भ्रमण भयो भने श्रृङ्गला आउने निश्चित भएको हो।

प्रतिक्रिया