

दुर्गा प्रसाईको अर्को काण्डः सुवेदीको तीन इन्ची सर्नेगरी हान्ने धम्की

काठमाडौं– झापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजका सञ्चालक तथा प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र दुर्गा प्रसाइँले डा. गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई फोन गरेर भौतिक आक्रमणको धम्की दिएका छन्।
उनले भनेका छन्,‘तँलाई भेटें भने तेरो नि तीन इन्ची सर्ने गरी हान्दिन्छु। साथै बाबुआमा र बहिनीको नाम लिँदै सुवेदीलाई ‘डाँँका’ लगायतका अपशब्द बोलेका छन्।’
केहीदिन अगाडि काठमाडौं विश्वविद्यालयले चोर बाटोबाट अवैध रुपमा उनको मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास गरेको भन्दै डा केसीको अभियानका तर्फबाट प्रेस विज्ञप्ति जारी भएको थियो। लगत्तै उनले सुवेदीलाई फोन गरेर धम्क्याएका हुन्।
उक्त कुराकानीमा प्रसाइँले आफ्नो अस्पतालमा कोभिडका बिरामीलाई दुई लाख रुपैयाँ धरौटी राखेर मात्रै उपचार गर्ने गरेको पनि स्वीकारेका छन्।
बीएन्डसी मेडिकल कलेजलाई अनुकूल हुने गरी तत्कालीन नेकपा सरकारले २०७५ सालमा जबर्जस्ती चिकित्सा शिक्षा ऐन जारी गरेको थियो। त्यसैका आधारमा आफूले सम्बन्धन पाउनुपर्ने दावी प्रसाइँले गर्दै आएका छन्।
डा. केसी सोलिडारिटी अभियानका तर्फबाट सुवेदीको ज्यानको सुरक्षाका लागि अपिल गरिएको छ।
यसअघि प्रसाईले नेकपा नेत्रविक्रम चन्दका छोरा प्रकाशलाई धम्की दिएका थिए। प्रकाशसँग चर्काचर्की गरेका उनले भारतीय नम्बरबाट फोन लगाएर धम्की दिएका अडिओ पनि सार्वजनिक भएका थिए।

