

राष्ट्रपतिको कार्यालयको वेबसाइटबाट विवादास्पद सबै विज्ञप्ति हरायो

काठमाडौँ – प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको चौतर्फी आलोचना भइरहेको बेला राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएका विवादास्पद विज्ञप्तिहरू अचानक हराएको छ।
राष्ट्रपति कार्यालयको वेबसाइटमा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायत जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू नै हराएको हो।
विज्ञप्तिहरू नै हराएपछि धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको र प्रतिनिधिसभा विघटन सम्बन्धी महत्वपूर्ण सूचना राष्ट्रपति कार्यालयको वेबसाइटबाटै हराएपछि अनुसन्धान थालिएको छ।
वेबसाइटमा शनिबार राति १ः४८ अपलोड भएको प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११ः३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति हराएको हो।
त्यस्तै उक्त वेबसाइटमा शुक्रबार दिउँसो ३ बजेर ३४ मिनेटमा रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेको सूचना अपलोड भएको थियो। बिहीबार पनि वेबसाइटमा दुइटा सूचना अपलोड भएका थिए। सबै विज्ञप्तिहरू हराएको छ।
राष्ट्रपति कार्यालयको वेबसाइटबाट ऐतिहासिक सूचनाहरु सार्वजनिक पहुँचबाट झिकिएको भन्दै अनुसन्धान थालिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए।

