
अन्ततः नेपालमै उत्पादन सुरू भयो कोरोनाविरुद्धको औषधी रेम्डेसिभिर
काठमाडौं – कोभिड– १९ का बिरामीको उपचारमा प्रयोग गर्ने गरिएको रेम्डेसिभिर औषधि उत्पादनको अनुमति पाएको नेपाली कम्पनीले त्यसको परीक्षण उत्पादन गरेको जनाएको छ।
औषधि व्यवस्था विभागका अनुसार वीरगन्जस्थित न्याश्नल हेल्थकेअर प्राइभेट लिमिटेडलाई रेम्डेसिभिर उत्पादन गर्ने अनुमति एक साताअघि दिइएको थियो।
‘हामीले कम्पनीको उत्पादन क्षमता, पूर्वाधार तथा आवश्यक कच्चा पदार्थ उपलब्ध हुने अवस्था लगायतका पक्ष हेरेर उत्पादन अनुमति दिएका हौँ,’ विभागका सूचना अधिकारी सन्तोष केसीले भने।
विभाग र कम्पनीका अनुसार नेपालमा कोभिड महामारीको दोस्रो लहर शुरू भएदेखि रेम्डेसिभिर उत्पादन गर्नेबारे कुरा चलिरहेको थियो।
‘हामीले रेम्डेसिभिरको ट्रायल ब्याच उत्पादन नै गरिसक्यौँ। औषधि व्यवस्था विभाग त्यसलाई हेर्ने प्रक्रियामा छ,’ कम्पनीका उपाध्यक्ष अजय पाण्डेले भने।
‘औषधि उत्पादनका लागि चाहिने कच्चा पदार्थ ल्याउन चिनियाँ कम्पनीलाई हामीले पैसा पनि तिरिसकेका छौँ। अहिले माग धेरै भएकोले हामी पालो कुरिरहेका छौँ।’
मे महिनाको अन्त्यतिर कच्चा पदार्थ आइपुग्ने आफूहरूको आशा रहेको नेपालमै उत्पादित रेम्डेसिभिर आउँदो जून महिनाको मध्यसम्म बजारमा उपलब्ध हुनेगरी प्रयास गरिरहेको पाण्डेले बताए।
औषधिको गुणस्तर लगायतका पक्ष आफूहरूले हेरेपछि बजारमा आउने विभागका केसीले जानकारी दिए।
अधिकारीहरूका अनुसार नेपालले हाल बाङ्ग्लादेशबाट र छिमेकी मुलुक भारतबाट उक्त औषधि आयात गर्दै आएको छ।



कागजपत्र |
