राष्ट्रियसभा चुनावमा ९ मतदाता अनुपस्थित (नामवलीसहित)
काठमाडौं – वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा ९ मतदाता अनुपस्थित भएका छन् ।
निर्वाचन आयोगका अनुसार ३४७ मतदातामध्ये प्रदेश सभाका ४ जना सदस्य मतदानमा अनुपस्थित भएका छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ५ जना अनुपस्थित भएका हुन् । अनुपस्थित हुने प्रदेशसभा सदस्यमा विवेकशील साझा पार्टीका तीनजना र माओवादीका एकजना छन् । विवेकशील साझाले कसैको पक्षमा मतदान नगर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम रमेश पौडेल, विराजभक्त श्रेष्ठ, शोभा शाक्य र अनुपस्थित भए । त्यस्तै माओवादी केन्द्रकी सांसद हिमाली गोले पनि बिरामी परेका कारण अनुपस्थित भइन् । मतदानमा अनुपस्थित हुने स्थानीय तहका प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका तीनजना, नेपाल मजदुर किसान पार्टीका एकजना र एमालेको माधव नेपाल पक्षका एकजना छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, उपाध्यक्ष कोपिला पण्डित र धादिङको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ मतदानमा अनुपस्थित भए । त्यस्तै दोलखाको मेलुङ गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारी पनि बिरामी परेका कारण अनुपस्थित भएकी छन् । उनी एमालेको माधव नेपाल पक्षमा खुलेकी दोलखाको एकमात्र जनप्रतिनिधि हुन् ।
प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ हुन्छ । यस हिसाबले प्रदेश सभातर्फ जम्मा ५ हजार ४० मत खसेको छ भने स्थानीय तहतर्फ ४१७६ मत खसेको छ । जित्नेले ४५ सय ६० मत कटाउनुपर्छ ।