गैर सांसद मन्त्रीहरूको पुनः नियुक्ति बदरपछि मन्त्री ज्ञवालीको धारणा- अदालतको फैसला कार्यान्वय गर्नु हाम्रो कर्तव्य हो


काठमाडौँ – परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलामा आफूहरुको फरक राय भएपनि निर्णय मान्ने प्रतिक्रिया दिएका छन् ।

बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकपछि सर्वोच्चको फैसलाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रतिक्रिया दिँदै मन्त्री ज्ञवालीले भने, ‘मैले भर्खर सुनेँ । आदेशको पूर्णपाठ हेर्न पाएको छैन । अदालतको फैसलाबारे सधैंभरी हाम्रो एउटै भनाइ छ, त्यसप्रति कतिपय हाम्रा फरक राय हुनसक्छन् । तर, अदालतको फैसलाको कार्यान्वय गर्नु हाम्रो कर्तव्य हो ।’

गैर सांसद मन्त्रीहरूले पुनः नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै बिहीबार सर्वोच्चले पद बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले मन्त्रीहरु रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी मणिचन्द्र थापा, दावा लामा तामाङ, टोपबहादुर रायमाझीको पद बदर गरेको हो ।

यस्तै, स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रणमा सरकारले गरेका कामबारे ब्रिफिङ गरेका थिए । प्रवक्ता ज्ञवालीका अनुसार बिहीबार वाग्मती प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गर्ने नेता तथा जनप्रतिनिधिहरुका क्रियाकलापका विषयमा बैठकमा गम्भिर छलफल भएको छ । पार्टी निर्देशन नमान्ने नेता तथा जनप्रतिनिधिहरुको क्रियाकलापको बैठकले भर्त्सना गरेको प्रवक्ता ज्ञवालीले बताए ।

प्रतिक्रिया