बालुवाटारमा एमालेको आकस्मिक स्थायी कमिटी बैठक, लगत्तै मन्त्रिपरिषद


काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा २ बजे बस्ने बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ।

एमाले विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षले तीन दिन भित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरे पनि कार्यदलको बैठक एक पटक मात्रै बसेको छ। तीन दिन समय पाएको कार्यदलले आफ्नो अवधिमा एउटा मात्रै बैठक राखेको हो।

बिहिबार बस्ने भनिएको कार्यदल बैठक अन्तिम समयमा स्थगित भएको थियो। कार्यदलको बैठक आज ५ बजेको लागि बोलाइएको छ। राष्ट्रिय सभाको उपनिर्वाचनलाई मध्यनजर गरेर आजको बैठक बोलाइएको हो।

राष्ट्रिय सभा उपनिर्वाचनमा ओली र नेपाल पक्षले आ-आफ्ना उम्मेदवार उठाएका छन्। ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उमेदवार छन्। नेपालका तर्फबाट खिमलाल देवकोटा उम्मेदवार बनेका छन्।

देवकोटलाई कांग्रेस-माओवादीको समर्थन छ। बादल एमाले उमेदवार हुन भने देवकोटा स्वतन्त्र हुन्। बालुवाटारको बैठकमा राष्ट्रिय सभा उपनिर्वाचनबारे समेत समिक्षा हुने स्रोतको भनाई छ।

स्थायी कमिटी बैठक सकेलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बिहिबार नियमित मन्त्रिपरिषद बैठक बस्ने भएकाले बोलाइएको एक मन्त्रीले बताए।

 

प्रतिक्रिया