प्यालेस्टिनी संरचनाको पुनर्निर्माण गर्न इजिप्टले ५० करोड डलर दिने


काठमाडौँ – इजिप्टले इजरायली सेनाको आक्रमणमा ध्वस्त भएका गाजास्थित प्यालेस्टिनी संरचनाको पुनर्निर्माण गर्न इजिप्टले सहयोग गर्ने भएको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले गाजाको पुनर्निर्माणका लागि ५ सय मिलियन अमेरिकी डलर(करिब ५८ अर्ब ३५ करोड नेपाली रुपैयाँ) दिने घोषणा गरेका हुन् ।

पेरिसमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र जोर्डनका राजा अब्दुल्लाहसँगको भेटपछि राष्ट्रपति सिसीले गाजाको पुनर्निर्माणमा सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले पुनर्निर्माणमा इजिप्टका कम्पनी सहभागी हुने पनि बताए । हमासका प्रमुख इस्माइल हनैयाले राष्ट्रपति सिसीले प्यालेस्टाइनको हितमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् । पछिल्लो समय इजिप्टले हमाससँग सम्बन्ध बढाइरहेको छ ।

सन् २०१७ मा हनैया आफ्नो प्रतिद्वन्द्वी समूह फतहसँग वार्ता गर्नका लागि इजिप्ट गएका थिए । उक्त वार्ताको मध्यस्थता इजिप्टले नै गरेको थियो ।

 

प्रतिक्रिया