कोरोना संक्रमितको शव व्यवस्थापनमा उपसेनानीको नेतृत्वमा खटिए ६ जना महिला सैनिक


धनगढी – कोरोना भाइरस संक्रमितको शव व्यवस्थापनमा महिला सैनिक पनि खटिन थालेका छन् । यसअघि संक्रमितको शव व्यवस्थापनमा पुरुष सैनिक मात्रै खटिदै आएको थिए ।

कैलालीको अत्तरियास्थित भवानी दल गणले बुधबार पहिलो पटक उपसेनानी शशी केसीको नेतृत्वमा ६ जना महिला सैनिकहरुलाई संक्रमितको शव व्यवस्थापनमा खटाएको हो ।

उपसेनानी केसीको नेतृत्वमा खटिएका महिला सैनिकले सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एक महिलाको शव गोदावरी आर्यघाटमा हिन्दु परम्पराअनुसार व्यवस्थापन गरेका हुन् ।

गणका गणपति प्रमुख सेनानी विकास केसीले महिला तथा बालबालिकाको शव व्यवस्थापनका लागि तालिमप्राप्त महिला सैनिक खटाइएको बताए ।

गणले शव व्यवस्थापन कार्यविधि ०७७ अनुसार बुधबारसम्म कैलालीमा मृत्यु भएका १ सय ६६ जनाको शव व्यवस्थापन गरेको जनाएको छ ।

प्रतिक्रिया