यस्तो छ चार्टर फ्लाइटका नाममा ब्रम्हलुट मच्चाउने सेटिङ, को–को छन् सिन्डिकेटमा?

नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयर र टर्किस एयरमार्फत लुटतन्त्र मच्चाइएको विवरण


काठमाडौं– कोरोना महामारीका कारण नियमित उडान बन्द गरेको अवस्थामा चार्टर फ्लाइटमार्फत श्रम गन्तव्यदेखि विभिन्न देशमा पुग्ने यात्रुमाथि ब्रम्हलुट मच्चाइएको प्रमाण खुलेका छन्।

संस्कृति, नागरिक उड्डयन मन्त्रालयका उच्च तहका अधिकारी, राजनीतिक पहुँच र एयरलाइन्सका विभिन्न अधिकारीसँगको मिलेमतोमा ब्रम्हलुट मच्चाइएको विवरण फेला परेको हो।

‘सेटिङ’मार्फत यसरी ब्रम्हलुट भइरहेको विवरणको आधिकारिकता पुष्टि भइसकेको छ। नेपाली मात्र नभएर काठमाडौंमा वेटिङमा रहेका २ हजार भारतीय नागरिकलाई पनि मारमा पारेपछि नेपालस्थित नियोगले पर्यटन मन्त्रालयलाई लेखेको पत्रले पनि ब्रम्हलुटको पर्दाफास गरेको छ।

बालुवाटारको आशिर्वाद पाएका एयरलाइन्स कम्पनीदेखि पर्यटनमन्त्री भानुभक्त ढकालसँग जोडिएका व्यक्ति, सचिव यादव कोइरालालगायतसँगको सेटिङमा काठमाडौंबाट साउदी अरबको दमाम र रियाददेखि अमेरिकालगायतका मुलुकका लागि जाने यात्रुमाथि पनि ४ देखि ५ गुणा बढी एकतर्फी भाडा असुल गरिएका विवरण सतहमा आएका छन्।

बोन ट्राभल्सका रमेश पौडेल र सम्राट ट्राभल्सका सीएन पाण्डेले हिमालयन एयरलाइन्सको विमान चार्टड गरी प्रतिब्यक्ति १ लाख ८२ हजार रुपैयाँसम्म असुली गरेका छन्। उनीहरूको सेटिङ पर्यटन मन्त्रालयसम्म रहेको बताइएको छ।

साउदी अरबको दमामका लागि नियमित उडानमा प्रतिब्यक्ति न्यूनतम २७ हजारदेखि अधिकतम ४० हजार रुपैयाँ मात्र भाडा हो। उनीहरूको सेटिङमा नै चार्टड गर्ने अनुमतिको व्यवस्था मिलाइएको छ। यी दुवैको सिन्डिकेटले काम गरिरहेको उच्च स्रोतको दाबी छ।

बोन र सम्राटका संचालक पौडेल र पाण्डेले पर्यटन सचिव कोइरालासँग सेटिङ मिलाएर साउदी अरबको दमामका लागि चार्टड अनुमति लिएका हुन्। यसका लागि मन्त्री ढकालले पनि सहयोग गरेको बताइन्छ।

यसबाहेकका सेटिङ पनि डरलाग्दो छ। चार्टर सेटिङमा कतार एयरलाइन्स र टर्किस एयरको पनि प्रयोग गरिएको स्रोतको दाबी छ। त्यसअनुसार कतार एयरलाइन्सका सेल्स म्यानेजर सरिक बोगटीले प्रेसिडेन्ट ट्राभलको भोला थापासँगको सेटिङमा एक्लौटी चार्टर गरेका छन्। कतार एयरलाइन्सले दोहा हुँदै युरोपका विभिन्न मुलुकमा यात्रु लैजाने गरेको छ।

यो समूहले पनि अत्यधिक रकम असुल गरिरहेको छ। ‘महामारीको मौका छोपी हतारमा रहेका, अनिवार्य सम्बन्धित मुलुक पुग्नुपर्ने यात्रुलाई डामेका छन्’, स्रोतको दाबी छ।

यस्तै, काठमाडौंदेखि युरोपका विभिन्न मुलुकमा चार्टर फ्लाइटमार्फत यात्रु लैजानका लागि टर्किस एयरलाइन्स सेल्स म्यानेजर म्यागी बनर्जीले मेगाबाइट ट्राभलको चित्रा गुरुङ र सिलिंकका राजु ढकालसँगको मिलोमतोमा एक्लौटी चार्टर गरेको खुलेको छ।

यी शीर्षक पढ्नुहोस्

चार्टर फ्लाइटमा लुटतन्त्रः भारतीय दूतावासले नेपाल सरकारलाई लेख्यो पत्र

चार्टर फ्लाइटका नाममा लुटतन्त्रः हिमालय एयरमा साउदी अरबकै एकतर्फी भाडा १ लाख ८२ हजार

प्रतिक्रिया