

अमेरिकामा कोरोना खोप लगाउनेलाई १० करोड पुरस्कार दिने

काठमाडौँ । अमेरिकामा आफ्ना नागरिकलाई कोरोना खोप लगाएबापत १०/१० करोड पुरस्कार दिने घोषणा गरिएको छ । पहिलो डोज खोप लिएका झण्डै ५० लाख मानिस दोस्रो खोप लगाउन नआएपछि ओहायो राज्यले यस्तो घोषणा गरेको हो ।
कोरोना खोपप्रति नागरिकले चरम अनिच्छा देखिएपछि अमेरिकाको ओहायो राज्यले यस्तो स्किम निकालेको एनबीसी न्युज समाचार संस्थाले जनाएको छ । नयाँ स्किमअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेमध्ये ५ जना भाग्यशाली मानिसले एक–एक मिलियन डलर पुरस्कार जित्नेछन् ।
यस्तो घोषणाको दुई दिनपछि गत सोमबार एकै दिन २५ हजार ४ सय जनाले खोप लगाए, जुन गत तीन साताको सबैभन्दा उच्च थियो ।
मे १२ तारिखमा घोषणा गरिएको यो स्किमअनुसार १८ वर्षभन्दा माथिका ओहायोका नागरिकहरूले एक वा एकभन्दा बढी डोज खोप लगाएका छन् । यो चिट्ठा अभियानमा उनीहरू सहभागी हुन सक्ने एनबीसी न्युज समाचार संस्थाले जनाएको छ ।
हङकङमा निःशुल्क खोप सुरु भएको तीन महिना बित्दासम्म पनि जम्मा १८ प्रतिशतले पहिलो डोज लगाएका थिए भने १२ प्रतिशत हाराहारीले मात्रै दुवै डोज लगाएका थिए । एजेन्सी

