

जसपा अध्यक्ष महन्थ–उपेन्द्रबीच कुरो मिलेन, ‘जहाँ–जहाँ बाबुराम, त्यतै–त्यतै विभाजन’

काठमाडौं– ‘जहाँ–जहाँ बाबुराम त्यहाँ–त्यहाँ विभाजन’ भन्ने उक्तिले जनता समाजवादी पार्टी (जसपा)का नेता र सांसदमा चर्चा पाउन थालेको छ।
त्यस पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्री माग गरेको विषय सतहमा आएपछि यो उक्तिले चर्चा पाउन थालेको हो।
जसपा महन्थ ठाकुर पक्षका एक नेता भन्छन्,‘उपेन्द्र यादवलाई सत्ता र पैसा नभई हुँदैन। होटलमा पनि स्विट रुम चाहिन्छ। ठूलो गाडी, महँगो गाडी चाहिन्छ। बाबुरामलाई त प्रधानमन्त्री नै चाहिएको रहेछ। मधेसको मागको के हुन्छ?’
जसपाभित्र आन्तरिक विवाद चर्को भएपछि सहमतिका लागि अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव गोप्य बैठकमा थिए। शनिबार उनीहरुको कुराकानी भए पनि सहमति बन्न नसकेको बरु उल्टै विग्रह हुन लागेको बताइन्छ।
यादव पक्षले नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्ने स्पष्ट भनेपछि ठाकुर पक्षले सहमति हुन नसक्ने बताएको थियो। ‘हामीलाई जानकारी बिना हस्ताक्षर गरेर लुम्बिनीका चार सांसदलाई किन हटाएको?’ भनी प्रश्न गरेको थियो। यादव समूहले राखेका मागका विषयमा मात्रै सहमति हुन नसक्ने भन्दै ठाकुर पक्षले बरु पार्टी विभाजनमा जान सक्ने चेतावनी दिएको उच्च स्रोतले भन्यो।
सरकार र प्रतिपक्षी दुई खेमामा बाँडिएका जसपा नेताहरुको मिलनविन्दुमा अझ बाधक बन्यो पछिल्लो पटक गोप्य रुपमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषय।
‘प्रतिपक्षीसँग मात्र होइन, सत्ताका लागि तपाईहरु ओलीजीलाई पनि भेटिरहने, अनि हामीलाई तटस्थ किन बसेको? भन्ने? तपाईको मन्त्री पदका लागि पार्टीले मधेससँग सम्झौता गर्दैन भन्यौं’, ठाकुर पक्षका अर्का नेताले भने।

