बागलुङमा २१ दिनको अन्तरालमा एकै परिवारका चारजनाको मृत्यु


File Photo

काठमाडौं – २१ दिनको अन्तरालमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। एकै परिवारको ४/४ जनाको मृत्यु भएपछि सामाजिक सञ्जाल शोक सन्देशले भरिएको छ। घटना बागलुङ जिल्लाको हो।

विवाहमा सहभागी भएको २१ दिनको अन्तरालमा एकै परिवारका चार जनाको कोभिड–१८ बाट मृत्यु भएको हो। गत ११ वैशाखमा विवाहमा सहभागी भएका बडिगाड गाउँपालिका–४ जलजलाका एकै परिवारका चार जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको हो।

मृत्यु हुनेमा ८७ वर्षीय वृद्ध, ४० र ५१ वर्षीय उनका छोराहरू र ५३ वर्षीया छोरी रहेका छन्। १७ वैशाखमा श्वासप्रश्वासमा समस्या भएपछि धौलागिरी अस्पताल पुर्याइएका वृद्धको २१ गते उपचारको क्रममा ज्यान गएको थियो।

यस्तै ४० वर्षीय छोराको ३० वैशाखको बेलुका धौलागिरी अस्पतालमा र ५१ वर्षीय छोराको ३१ गते पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको हो। त्यस्तै ५३ वर्षीया छोरीको आज दिउँसो धौलागिरी अस्पतालमा संक्रमणकै कारण ज्यान गएको छ।

विवाहको भोज खाएकाहरू उनीहरुलाई सात दिनभित्र ज्वरो आउने, रुघाखोकीलगायतका लक्षण देखिन थालेको थियो। गाउँपालिकाले वैशाख १९ र २२ गते गाउँमै पुगेर पीसीआर परीक्षण गर्दा एकैपटक ४८ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यसपछि थप परीक्षण भएको छैन। विवाहमै सहभागी अन्य दुई जनाको पनि मृत्यु भइसकेको छ भने बाँकी संक्रमितहरु अस्पतालको बेडमा गम्भीर अवस्थामा रहेको बताइएको छ।

प्रतिक्रिया