धनगढीलाई हराउँदै काठमाडौं च्याम्पियन


तस्बिर : wesportz.com

काठमाडौं – काठमाडौं रेजर्स पहिलो फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको च्याम्पियन बनेको छ।

शनिबार दशरथ रंगशालामा भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी सिटी एफसीलाई १–० गोलले पराजित गर्दै च्याम्पियन बनेको हो।

काठमाडौंलाई च्याम्पियन बनाउन पहिलो हाफमा विदेशी खेलाडी मेसौके ओलुमोउले गरेको गोल नै निर्णयक बन्यो। उनले खेलको २१औं मिनेटमा गोल गरेका थिए।

जारी लिगमा उनको यो आठौं गोल थियो। विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा ओलुमोउले २१औं मिनेटमा उत्कृष्ट फिनिस गरेका थिए।

च्याम्पियन बनेसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँसहित शिल्ड जितेको छ। दोस्रो भएको धनगढीले १५ लाख रुपैया प्राप्त गरेको छ।

काठमाडौं लिग चरणमा ३–० ले तथा तथा प्ले अफमा अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो। धनगढी सिटीले जितो लयलाई निरन्तरता दिन नसक्दा उपाधिबाट वञ्चित बन्यो।

नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा भएको एनएसएलमा ७ शहरका ७ टोलीले भाग लिएका थिए।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले भाग लिएका थिए।

प्रतिक्रिया