सचेतना जगाउँदै दोलखा प्रहरी, ५८ वटा सिलिण्डर हस्तान्तरण


काठमाडौं – यतिखेर सुरक्षाकर्मी र स्वास्थ्यकर्मी अग्रभागमा रहेर कोभिड–१९ विरुद्धको लडाईमा छन्। आफ्नो र परिवार समेतको पर्वाह नगरी सेवा प्रवाह गरिरहेका छन्। उनीहरुले नागरीकहरुलाई स्वास्थ्य सुरक्षा तथा सर्तकता अपनाउन सचेत गराउँदै घरभित्र रहन र आफु हरुले सुरक्षा दिने अनुरोध गरिरहेका छन्।

दोलखा प्रहरीले यतिबेला जिल्लाका दुर्गम गाउँमा समेत कोरोनाविरुद्ध सचेतना अभियान चलाएको छ। ‘आफ्नो जीवन आफैँ सुरक्षित’ भन्ने नाराका साथ यहाँको प्रहरी टोलीले गाउँगाउँ तथा समुदायका घरैमा गएर कोरोना संक्रमणबाट जोगिन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ। यतिखेर जिल्लामा कोरोनाको ग्राफ ह्वातै बढिरहेको छ।

जिल्लाको बैतेश्बर गाउँपालिका कोरेनाको बढी चपेटामा परेको छ। दोलखा प्रहरीले गौरी शंकर गाउँपालिकालगायत यस्ता दुर्गम ठाउँमा समेत सबैलाई सजक रहन र अपनाउनुपर्ने उपाय बारेमा टोलटोलमा पुगेर सचेतना जगाउने कार्य गरेको छ।

यसो त कोरोनाको कहर सुरु हुनसाथ तपाईको मास्क खै?, स्वास्थ सुरक्षा अपनाउन माइकिङ गर्ने, जिगंल बजाउनेलगायतका कार्य गरेको छ। कोरोनाबारे सचेतना फैलाउनका लागि जिल्ला प्रहरी कार्यालयको टोलीले घरदैलो अभियान सञ्चालन गरेको दोलखा प्रहरी प्रमुख भेषराज रिजालले बताए।

प्रमखु रिजालका अनुसार कोरोना भाइरसविरुद्ध सचेतना फैलाउन यहाँका समुदायमा खटिएको प्रहरी टोलीले कोरोनाबाट बच्ने उपाय सिकाउनाका साथै भीडभाड नगर्न तथा मास्क अनिवार्य प्रयोग गर्न आग्रह गर्न थालेको छ।

कोरोना भाइरसबारे सर्वसाधरणलाई जानकारी गराउन तथा उक्त रोगबाट बचाउनका लागि यो अभियान सञ्चालन गरिएको रिजालको भनाइ छ। उनले भने, ‘सुरुवातदेखि नै कोरोना भाइरसबाट बचाउन अभियान थालनी गरेका छौँ, ज्यानभन्दा ठूलो केही छैन, आफू बचौँ र अरूलाई पनि बाच्न दिऔँँ भन्ने हाम्रो लक्ष्य र चाहना हो।’

९ वैशाखयता हालसम्म जिल्लामा ५१ वटा सचेतना कार्यक्रम र १३ हजार मानिसलाई कोरोनाविरुद्ध सचेतना गरिएको प्रमुख रिजालले बताए। प्रमुख रिजालका अनुसार हालसम्म ३ हजार २३० जनालाई मास्क पनि वितरण गरिएको छ।

यसैमा हाल दिनप्रतिदन कोरोना संक्रमित बिरामीहरुको अस्पतालमा चाप बढेको छ। कतिपयले त अकालमै ज्यान गुमाइरहेका छन्, जसको कारण हो अक्सिजन। यस्तो अवस्थामा प्रहरी प्रधान कार्यालयले नै प्रत्येक जिल्लाका प्रमुखहरुलाई अक्सिजन सिलिण्डर संकलन गर्न निर्देशन दिएको छ।

अक्सिजनको कमी भएर बिरामीले मृत्युवरण गर्नुपरेको समेत अवस्थालाई मध्यनजर गरी दोलखा प्रहरीले जिल्लाभित्र अक्सिजन सिलिन्डर संकलनको अभियान चलाएको छ। शुक्रबारसम्म दोलखा प्रहरीले कुल ५८ वटामध्ये ३१ खाली र २७ वटा भरिएका सिलिन्डर डिसीएमसीमार्फत जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ।

कोभिड संक्रमितका लागि अक्सिजन अभाव हुन थालेपछि सिलिन्डरको खोजी तथा संकलन कार्य सुरु गरेको प्रमुख रिजालले बताए। उनले भने, ‘यसले जिल्लामा भएको अक्सिजनको अभावलाई केही हदसम्म कम गर्ने विश्वास छ।’

अहिले अन्य प्रयोजनभन्दा कोभिड संक्रमित बिरामीका लागि अक्सिजन अत्यावश्यक भएकाले सिलिन्डर खोजीमा जुटेको रिजालको भनाइ छ। उनले भने, ‘विभिन्न कलकारखाना तथा ग्यारेजहरूमा वेल्डिङलगायतका कामका लागि राखिएका तथा प्रयोगविहीन अवस्थामा रहेका अक्सिजन सिलिन्डर संकलन गरिरहेका छौं।’

अन्तमा कोरोना लागेकोलाई शीघ्र स्वास्थलाभको कामना गर्दै दोलखा प्रहरीले यस नियम पालना नगर्नलाई संक्रामक रोग ऐन अन्तर्गत कारबाही हुने समेत जनाएको छ।

प्रतिक्रिया